पहिरोले लग्यो एसईई पास भएका विकलको सपना, रिजल्ट नै हेर्न पाएनन्


काठमाडाैं- लमजुङको दोर्दी गाउँपालिका–९ सुनार टोलका विकल सुनारले गतवर्ष माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको परीक्षा दिएका थिए । त्यसकै नतिजाको प्रतिक्षामा उनले तीन महिनाभन्दा बढी कुरेका थिए । तर, उतीर्ण भएमा कक्षा ११ मा भर्ना भएर पढ्ने उनको सपना पहिरोले लगिदिएको छ ।

नजिता प्रकाशित हुने मिति मुखमै आएकाले मंगलबार पनि उनी पास हुने सपना बुन्दै सुतेका थिए । तर, त्यो रातिबाट उनी सुतेको सुत्यै छन् । सधैंझै घरसँगै जोडिएको खोपीमा दाजु मिलनसँगै सुतेका उनीमाथि त्यो राति पहिरो आयो ।

पहिरोले खोपी भत्किँदा उमेरले १६ वर्ष मात्रै पुगेका उनीसहित दाजु मिलन घाइते भए । तर, पहिरो पन्छाएर अस्पताल लग्दा दाजु मात्रै जिउँदो अवस्थामा पुगे । विकलले आधा बाटोमै प्राण त्यागेको वडाअध्यक्ष आशिष तामाङले जानकारी दिए । अहिले विकलका दाजुको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले बताए ।

विकलको मृत्यु भएको एकदिनपछि एसईईको नजिता प्रकाशित भएको छ । उनी २.८० जीपीए ल्याएर पास भएको वडाध्यक्ष तामाङले बताए । तर, रिजल्टकै पर्खाइमा तीन महिना बिताएका विमल भने यो धर्तीमा छैनन् । मृत्युको खबरले उनले एसईई दिएको जनकल्याण मावि स्तब्ध भएको छ ।

स्वमय् सेविकाको रुपमा कार्यरत आमाको आँखामा जलधारा बगेको बग्यै छन् । भने, सामान्य खेतीकिसानी गर्ने बुवा रामकाजी सुनार किसान रुन पनि सकिरहेका छैनन् । ‘कान्छो छोरोको मृत्युको शोक मनाउने कि जेठोको उपचारमा लाग्ने भन्ने चिन्ता उनीमा छ’ वडाअध्यक्ष तामाङले भने ।

अहिले वडाअध्यक्ष आशिष तामाङ घटनाको मुचुल्का बोकेर पीडित परिवारलाई सरकारकोतर्फबाट राहत दिलाउनमा कुदिरहेका छन् ।

 

 

प्रतिक्रिया