

भारतबाट नेपाल आइपुगेका कृष्णानन्दले गुमाए बसमै ज्यान, चालक र सहचालक पक्राउ

धनगढी – महेन्द्रनगरबाट बैतडी जाँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ ।
भारतबाट घर फर्कँदे गरेका जोशी महेन्द्रनगरबाट बैतडीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ६३८४ नम्बरको बसमा अत्तरियामा चढेका थिए ।
जोशी पाटन पुग्दा बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएको थियो ।
अस्पतालका चिकित्सकले जोशीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ । जोशीको मृत्युको कारण भने खुलेको छैन ।
बस चालक जगदीश अवस्थी र सहचालक चन्द्रदेव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

