कालापानीको काखबाट देशभर ब्यास गाउँपालिको अपिल : तिंकर सडकका लागि सहयोग गरिदिनुस्


काठमाडौं – सरकारले वास्ता नगरेपछि कालापानी क्षेत्रमा पर्ने ब्यास गाउँपालिकाले दार्चुला–तिंकर सडकका लागि देशभरको सहयोग आव्हान गरेको छ ।  ब्याँस गाउँपालिकाले सातवटै प्रदेश सरकार र देशभरका सबै स्थानीय तहलाई सक्दो सहयोग गर्न आव्हान गरेको हो ।

सो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । आर्थिक वर्ष ०८१-०८२ मा संघीय  सरकारले रणनीतिक महत्वको सो सडकका लागि ८ करोड ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको छ । सो रकम निकै न्युन भएको र बजेट अभावका कारण सडक निर्माण कार्य पुरा हुन थप एक दशक लाग्ने गाउँपालिकाले जनाएको छ ।

पालिकाले सार्वजजिक रुपमै विज्ञप्तीमार्फत आफ्नो खातामा सक्दो सहयोग गर्न देशभर अपिल गरेको हो । सो सडक दार्चुला जिल्लाको लाइफलाइनका रूपमा हेरिएको परियोजना हो ।

नेपाली भूभाग कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रनजिकका छाङरु र टिङ्कर गाउँ भएर चीनको सीमासम्म जोड्ने दार्चुला–टिङ्कर सडक निर्माणको गति वजेट अभावमा सुस्त छ ।

चालु आर्थिक वर्ष २०७९-८० मा टिङ्कर सडक निर्माणका लागि सरकारले साढे नौ करोड बजेट सेनालाई उपलब्ध गराएको थियोे ।

७९ किलोमिटर लामो सो सडकको ट्रयाक निर्माण सम्पन्न गर्नका लागि ३ अर्ब ७४ करोड लाग्ने अनुमान गरिएको छ ।

गाउँपालिकाका कार्यवहाक अध्यक्ष विनोद सिंह कुवँरले राष्ट्रिय स्वाभिमानको अभियानमा सक्दो सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया