माओवादीको कारबाहीमा परेका प्रदेश सांसद देवकोटा सर्वोच्च पुगे


काठमाडौं – नेकपा माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीसमेत रहेका देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै रिट दायर गरेका हुन् ।

माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसपछि माओजवादी केन्द्रले उनलाई ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो ।

माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।

माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएका थिए ।

माओवादी चुनाव चिह्नबाट विजयी भएपनि आफू समाजवादी पार्टीकै तर्फबाट मनोनयन दर्ता गराएको, पार्टीका नाम समाजवादी नै लेखेकाले पनि आफूलाई माओवादीले मात्र एकल रुपमा कारबाही गर्न नसक्ने देवकोटाको दाबी छ ।

प्रतिक्रिया