सुदूरपश्चिमका सासंदलाई प्रचण्डको निर्देशन : खगराज भट्टलाई तत्काल दल नेता बनाउनु


काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्य खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।

भट्ट यसअघि दल नेता थिए । तर उनलाई अल्पमतमा पार्दै मानबहादुर धामी दल नेता चुनिएका थिए । पछिल्लो समय पार्टी र दल दुवैबाट भट्टको भूमिका खोसिएपछि उनी मौन बसेका थिए । भट्टलाई दल नेताबाट हटाएपछि पार्टीको स्थायी समिति बैठकमा समेत त्यसबारे चर्को बहस भएको थियो ।

पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीको सहभागितालाई लिएर विवाद चर्कदै गएपछि प्रचण्डले पार्टी प्रदेश इञ्चार्जसहित सबै सांसदलाई काठमाडौं बोलाएका थिए ।

आज झण्डै ३ घण्टा प्रचण्डले सांसदहरुसँग छलफल गरेका थिए ।

सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन् । १० जनामध्ये ५ जना दल नेता धामीको पक्षमा र ५ जना खगराज भट्टको पक्षमा देखिएका छन् ।

बैठकमा प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेल,सह इञ्जार्च विना मगर लगायतको उपस्थिती थियो ।

प्रचण्डले दल नेतामा खगराज भट्टलाई पुर्नस्थापित गर्न निर्देशन दिएको बैठकमा सहभागि एकले बताए ।

प्रचण्डको भनाई उदृत गर्दै उनले भने,‘तत्काल बैठक बसेर खगराज भट्टलाई दल नेतामा पुर्नस्थापित गर्नुस् । पार्टीलाई जोड्ने अभियानमा म छु । यो मेरो निर्देशन हो ।’

यस्तै प्रचण्डले तत्काल सुदूरपश्चिम सरकारमा सहभागि मन्त्रीलाई फिर्ता नबोलाउन निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया