७ चैतअघि नै जसपाको समर्थन प्रधानमन्त्री ओलीका पक्षमा खुल्ने, उपेन्द्र समूहभित्र बिद्रोहको तयारी!


काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटीको बैठक अघि नै जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा खुल्ने भएको छ।

जसपाको महन्थ ठाकुरलगायत पूर्व राष्ट्रिय जनता पार्टीका सबै सांसद र उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टीका पनि आधार भन्दा बढी सांसद ओलीको समर्थनमा खुल्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक गरेपछि बुधबार जसपाका नेताको बैठक सिंहदरबारमा बसेको थियो। प्रधानमन्त्री ओली जसपाका मुख्य माग कार्यान्वयनका लागि तयार भएपछि उनकै समर्थनमा खुल्न लागेको एक नेताले बताए।

पार्टीभित्र केही मतभेद रहेको र माग पूरा गराउने सरकारलाई समर्थन गर्न नहुने भन्ने कसैले सोच राख्छ भने उनीहरूविरुद्ध ठूलो संख्यामा विद्रोह हुने पनि ति नेताले बताए।

उनले भने,‘रेशम चौधरीको रिहाई, मधेस आन्दोलनका घाइतेको उपचार, बन्दीको रिहाई भनेको जसपाको मूल माग होइन? यो पूरा गर्न ओली तयार छन् भने हाम्रो समर्थन उनलाई हुन्छ। ओलीको व्यहोरा र अनुहारलाई होइन, जसपाको अनुकूलतालाई समर्थन हुने हो।’

जसपा अहिले सरकारको नेतृत्व गर्ने पक्षमा नरहेको यसअघि नै त्यस दलका नेता लक्ष्मणलाल कर्णले बताइसकेका छन्। उनले भने,‘अहिले हामी नेतृत्व लिँदैनौं समर्थन गर्छौं। प्रधानमन्त्री ओली हाम्रा मागमा सकारात्मक छन्।’

प्रतिक्रिया