

कार्यकर्ता भेलामा माधव नेपालको प्रतिवेदन– एमाले अध्यक्षबाट ओलीको राजीनामा, कार्यबाहक कसलाई?

काठमाडौं– आफू पक्षीय कार्यकर्ता भेलामा एमाले नेता माधवकुमार नेपालले पार्टी अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा अनिवार्य हुनुपर्ने प्रस्तावसहितको प्रतिवेदन छलफलका लागि प्रस्तुत गरेका छन्।
बुधबारदेखि ललितपुरमा भएको भेलामा उनले आत्माआलोचना गरी नसच्चिए अध्यक्षबाट राजीनामा गरी कार्यबाहक नेतृत्व आफूलाई दिनुपर्ने संकेतसहितको प्रतिवेदन पेस गरेका हुन्।
स्रोतका अनुसार नेपालले प्रधानमन्त्री पद र संसदीय दलको नेताबाट पनि ओलीले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन्। उनले संसदीय दलमा बरिष्ठ नेता झलनाथ खनाललाई प्रस्ताव गरेको उच्च स्रोतले जनायो।
‘ओली कुनै पनि पदमा बस्न लायक छैनन्। कार्यबाहक जिम्मेवारी अरुलाई दिएर महाधिवेशनमा जानुपर्छ’, नेपालले आन्तरिक छलफलका क्रममा भने,‘ओलीलाई नहटाएसम्म कम्युनिस्ट एकीकरण हुँदैन, उनलाई हटाए आउने नेतृत्वले नेकपा माओवादी केन्द्रसँग सहकार्य गरी सरकार कायम राख्न सक्छ।’

