ऐतिहासिक जितबाट चुक्याे नेपाल, दक्षिण अफ्रिकासँग १ रनले पराजित


काठमाडौं – नेपालले विश्व क्रिकेटमा ऐतिहासिक जितबाट चुकेकाे छ । शनिबार सम्पन्न खेलमा आईसीसी टी–२० विश्वकपमा बलियो टिम दक्षिण अफ्रिकाविरुद्ध १ रनको हार ब्योरेको हो ।

कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ रोजेको खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिं ऐरीको उत्कृष्ट बलिङले दक्षिण अफ्रिका २० ओभरमा ११५ रनमा खुम्चिएको थियो ।

११६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ११४ रनमा खुम्चियो । नेपालका लागि आशिफ शेखले उत्कृष्ट ४२ रनको पारी खेलेका थिए ।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले पावर प्लेमा बिना विकेट ३२ रन बनाएका थिए । नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनले १३ रन बनाएका थिए । उनीपछि आएका कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए पनि नेपालको पारीलाई आशिफ र अनिल शाहको जोडीले सम्हालेको थियो । नेपालका लागि अनिल शाह तेस्रो विकेटको रुपमा अनिल शाहलाई गुमाएको थियो । उनले २४ बलमा २७ रन बनाएर आउट हुँदा नेपालले १३.४ ओभरमा ८५ रन बनाएको थियो ।

त्यसपछि ब्याटिङका लागि दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भएका थिए । ९९ रनमा ३ विकेट गुमाएर खेलिरहेको नेपालले थप १ रन बनाउँदा आशिफ शेख, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीलाई गुमाएको थियो । ऐरी आउट भएपछि कुशल मल्ल ब्याटिङका लागि आए पनि १ रन बनाउँदै आउट भएका थिए ।

दक्षिण अफ्रिकाका लागि साम्सीले ४ विकेट लिएका थिए ।

त्यसअघि नेपालका लागि भुर्तेलले ४ विकेट लिएका थिए भने ऐरीले ३ विकेट लिएका थिए । भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट चट्काएका थिए भने ऐरीले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा बिना कुनै विकेट १८ रन दिएका थिए । उनले ११ बल डट फालेका थिए । नेपालले २० ओभरमा ५९ बल डट फालेको थियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्ड्रिक्सले ४३ रन बनाएका थिए भने ट्रिस्टान स्टब्सले २७ रन बनाएका थिए भने डिकक १० रनमा आउट भएका थिए ।

नेपालले विश्वकपको सुपर ८ मा प्रवेश गर्नका लागि सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया