बन्द भएका ट्रायल भोलिबाट खुल्ने


काठमाडौँ –  करिब १ महिना अघिदेखि बन्द भएको ट्रायल भोलिबाट खुल्ने भएको छ । भोलिबाट राजस्व तिरेपछि समय लिएर आइतबारदेखि लाइसेन्सको ट्रायल दिन पाइने भएको हो ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार भक्तपुर, चाबहिल, गुर्जुधारा र ठूलोभर्याङ यातायात कार्यालयमा ट्रायल सञ्चालन गर्न पत्र पठाएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, भक्तपुरले सूचना निकालेर सेवा सुचारु हुने बताएको छ । ‘यस कार्यालयको पूर्व प्रकाशित सूचना बमोजिम स्थगित भएको राजस्व बुझाउने र समय लिने र ट्रायल दिने सेवा भोलिबाट सुरु हुने भएको छ,’ सूचनामा भनिएको छ ।

बाइक, स्कुटर र मझौलाको ट्रायल दिन पाइने भएको छ । ४ वटा ट्रायल सेन्टरबाट ट्रायल खुले पनि हेभी र लाइटको ट्रायल रोकिएको छ । भक्तपुरमा रहेको बुढाथोकी ड्राइभिङ सेन्टरले सञ्चालन गर्ने ट्रायलमा भने रोक लगाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले हेभीको ट्रायल सञ्चालन गर्ने ट्रायलमा समस्या देखिएकोले रोकिएको बताइएको छ ।

यातायात कार्यालय भक्तपुरले निकालेको सूचनामा मिनी बसरमिनी ट्रक तथा ट्रक, बस, लहरीको अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि रोकिएको उल्लेख छ ।

राष्ट्रिय सतर्कता केन्द्रले ४ वटा ट्रायल सेन्टरमा स्थलगत अध्ययन गरेको र त्यहाँ मापदण्ड पूरा नभएकाले रोक्न निर्देशन दिएको थियो । सेन्टर सेन्टरहरूले मन्त्रालयले भने अनुसारको सुधार गरेपछि अब सेन्टर सञ्चालन हुने भएको हो ।

प्रतिक्रिया