पाल्पामा जिप दुर्घटना, ३ जनाकाे मृत्यु, २ घाइते


पाल्पा – पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

लु २ च ८५३१ नम्बरको जीप नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

सो घटनामा परेर स्याङ्जा पुलतीबजार घर भइ बुटवल १० बस्ने चालक रामप्रसाद शर्मा, तिलोत्तमा ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा ३ बस्ने ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले जानकारी दिए।

घटनामा बुटवल ९ मिलनचोक बस्ने ५६ वर्षीय चन्दा श्रेष्ठ, बुटवल ११ बस्ने ४६ वर्षीय लक्ष्मीता श्रेष्ठ घाइते रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

गएराति ९ बजे आफूहरुलाई घटनाको खबर आएपछि उद्दारमा गएको डिएसपी पण्डितले बताए। जिप ओरोलो घुम्ती सडकमा दुर्घटना भएको छ। उनिहरु घुम्नको लागि पाल्पा र रुपन्देहीको पायक पर्ने स्थल नुवाकोटगढी घुम्न गएका थिए।

प्रतिक्रिया