मोदीको सपथमा सहभागी हुन भारत जाँदै प्रधानमन्त्री दाहाल


काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ।

आज साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले भारतीय समकक्षी मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो। मोदीको शपथग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच आइतबारै साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम छ । तर, यो शिष्टाचार वार्ता मात्रै हुने जानकारी भारतीय पक्षले दिएको छ । प्रधानमन्त्री प्रचण्ड भोलि मात्रै स्वदेश फर्किने छन्। प्रधानमन्त्रीको दिल्ली भ्रमणको सबै प्रबन्ध भारत सरकारले गर्नेछ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले सन् २०२३ मे ३१ देखि जुन ३ सम्म भारतको औपचारिक भ्रमण गर्नुभएको थियो। मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्डसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ।

पहिलोपटक मोदीले २०१४ शपथ लिँदा नेपालबाट तत्कालिन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । दोस्रोपटकको शपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका थिए।

प्रतिक्रिया