टी-२० विश्वकपः इंग्ल्याण्डलाई पराजित गर्दै अष्ट्रेलिया शीर्षस्थानमा


काठमाडौं – आईसिसी टी-२० विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै अस्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। विशाल रनको लक्ष्य दिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा समेटिएको हो।

अस्ट्रेलियाको जितका लागि एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे। कमिन्सले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिँदा जम्पाले २८ रन खर्चेर समान दुई विकेट हात पारे।

इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। फिल साल्ट ३७, मोइन अली २५ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए। अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।

सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि ओपनर ट्रेभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात गरेका थिए।

वार्नरले मात्र १६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ३९ रन बनाए। हेडले १८ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३४ रन जोडे।

कप्तान मिचेल मार्सले २५ बलमा ३५ रन बनाए भने मार्कस स्टोइनिसले ३० रन जोडे।

पहिलो खेलमा पहिलो बलमै आउट भएका ग्लेन म्याक्सवेलले दोस्रो खेलमा २८ रन जोड्दा म्याथ्यू वेडले १७ रन बनाए।

अस्ट्रेलियाको आक्रामक ब्याटिङलाई रोक्न इंग्ल्याण्डका लागि क्रिस जोर्डनले दुई विकेट लिए भने मोइन अली, जोफ्रा आर्चर, आदिल रसिद र लियाम लिभिङ स्टोनले एकएक विकेट हात पारे।

विश्वकपको यो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, स्कटल्याण्ड, नामिबिया र ओमान छन्।

अस्ट्रेलिया लगातार दुई जित निकाल्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। दुई खेलमा एक जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ। दुईमा एक खेल गुमाएको नामिबिया दुई अंकसहित तेस्रो स्थानमा छ। एउटा खेलमा अंक बाँडेर अर्को खेलमा पराजित भएको इंग्ल्याण्डले एक अंक जोडेको छ। ओमान अंकबिहीन छ।

युगान्डाविरुद्ध ब्याटिङ गर्दै वेस्ट इन्डिज
आईसीसी टी-२० विश्वकप अन्तर्गत आइतबार बिहानको खेलमा वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर वेस्ट इन्डिजले युगान्डाविरुद्ध सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो।

विश्वविजेता वेस्ट इन्डिज युगान्डाका लागि महंगो हुने अनुमान गरिएको छ। तर पछिल्ला केही खेलमा एसोसिएट राष्ट्रले टेस्ट क्रिकेट खेल्ने राष्ट्रमाथि शानदार जित निकालेका छन्।

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

आइतबार वेस्ट इन्डिज दोस्रो खेल खेल्दैछ भने युगान्डा तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई ५ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा अफगानिस्तानसँग १२५ रनले पराजित भएको युगान्डाले दोस्रो खेलमा पिएनजीमाथि तीन विकेटको जित निकालेको छ।

यो समूहमा दुवै खेलमा विजयी हुँदै अफगानिस्तान शीर्ष स्थानमा छ। एक खेल मात्र खेलेको वेस्ट इन्डिज भने तालिकाको दोस्रो स्थानमा छ।

 

प्रतिक्रिया