सर्वदलीय बैठकमा राष्ट्रपतिले भनिन्- दलहरुबीचको सहकार्यलाई निरन्तरता दिनुपर्छ


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।

समयसामयिक विषयमा छलफलका लागि आज राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी हुन् । आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उनले उल्लेख गरिन् ।

राष्ट्रपति भण्डारीले बैठकको शुरुवातमा शीर्ष नेताहरूलाई स्वागत गर्दै मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन् ।

मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति धन्यवाद समेत दिएकी छन् ।

राष्ट्रपति कार्यालयमार्फत जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी थिए ।

त्यस्तै गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा। शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ पनि सहभागी थिए ।

सर्वदलीय बैठकमा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल सहभागी भएका थिए ।

प्रतिक्रिया