क्याप्टेन विजय र भावनाविरुद्ध कस्तो उजुरी परेको हो ? के हुन्छ कारबाही ?


काठमाडाैं- नेपाल नागरिक उड्डयन प्राधिकरणले हिजो (साेमबार)नेपाल एयरलाइन्सका दुई पाइलटहरू विजय लामा र भावना पन्तलाई ग्राउण्डेड गरिसकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ‘एक्टिभ ड्युटी’ बाट हटाएको अर्थात् उडान कार्य रोेकेको हो । प्राधिकरणबाट पत्र प्राप्त पाएपछि नेपाल एयरलाइन्सले उनीहरु दुवैलाई ग्राउन्डेड गरेको बताइएको छ ।

प्राधिकरणका प्रवक्ता हशंराज पाण्डेका अनुसार दुवैजनाविरुद्ध प्रमाणसहित उजुरी परेको थियो । ‘प्राधिकरण अनुगमन गर्ने निकाय हो । आचरण विपरीतको क्रियाकलाप गरेको भन्ने उजुरी प्रमाण आयो । त्यसको अनुसन्धान हुँदासम्म सक्रिय ड्युटी नगर्नु भनेर स्थगत गरिएको अवस्था हो’ उनले भने ।

स्रोतका अनुसार लामाविरुद्ध निषेधित क्षेत्र (ककपिटको अगाडी) फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको गरेको भन्दै उजुरी परेको छ । त्यस्तै पन्तले जहाजको संवेदनशील क्षेत्रमा गएर टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिएको भन्दै उजुरी परेको छ । उनले एक टेलिभिजनलाई विमानको मुनी तथा ककपिटमै गएर अन्तर्वाता दिएको प्रमाणसहित उजुरी परेको हाे ।

यस विषयमा प्रवक्ता पाण्डेले भने विस्तृत खुलाउन चाहेनन् । ‘बाहिरी कुराहरु विभिन्न आएका छन् तर भित्री कुराहरुमा छानविन चलिरहेको छ । सेफ्टी इन्सपेक्टरहरुले आफ्ना काम गरिरहेका बेला धेरै कुराहरु खुलाउँदा अनुसन्धानमा प्रभाव पर्छ’ उनले भने, ‘छानविन सुरु भइसकेको छ । आजै अथवा भोलिसम्ममा सकिन्छ ।’

उजुरी अनुसार दुवैजना दोषी पाइएमा विधि प्रक्रिया अनुसार कारबाही हुने उनले बताए । पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ जहाज उडाउने क्याप्टेन हुन् ।

लामा केही वर्षअघि पनि कारबाहीमा परेका पाइलट हुन् । प्रशिक्षक समेत रहेका उनी २०७६ सालमा निलम्बित भएका थिए । उड्डयन सुरक्षामा गम्भीर असर पर्ने किसिमका अभिव्यक्ति दिएकाले उनीलाई विमान उडाउन रोक लगाइएको थियो ।

प्रतिक्रिया