वर्षमान पुनबाहेक सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने माओवादी तयारी


काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार अर्थमन्त्री वर्षमान पुनबाहेक सबै मन्त्रीहरुलाई केही समयभित्रै फिर्ता बोलाउने तयारी छ ।
बजेटमाथिको छलफल जारी रहेकाले तत्काल मन्त्रीलाई फिर्ता नबोलाएपनि बजेट पास भएलगत्तै फिर्ता बोलाउने तयारी भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।

माओवादीबाट हाल उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत,संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङ र सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा छन् ।
यसका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक गृहकार्य गरिरहेको बताइएको छ । माओवादी पार्टीभित्रै युवा र नयाँलाई मन्त्रीमा अवसर दिनुपर्ने माग उठ्दै आएको छ । लगातार एउटै पात्रलाई मन्त्री दोहर्याउदा पार्टीभित्र विवाद बढ्दै गएको छ ।

माओवादीभित्र नारायणकाजी श्रेष्ठ,वर्षमान पुन,जनार्दन शर्मा,शक्ति बस्नेत सबैभन्दा बढी पटक मन्त्री हुने नेतामा पर्दछन् ।

हितबहादुर तामाङ विना विभागिय मन्त्री

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटनमन्त्री बनाउने तयारी गरेका छन् । पर्यटनमै नेकपा एकिकृत समाजवादीको पनि दाबी छ । तर प्रधानमन्त्रीले रञ्जितालाई पर्यटनमन्त्रीमा वचन दिइसकेको बताइएको छ ।
हाल संस्कृती पर्यटन तथा नागरिक उड्यनमन्त्री माओवादीका हितबहादुर तामाङ छन् । वालुवाटार स्रोतका अुनसार रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुरलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी छ ।

को–को छन् माओवादीबाट आकांक्षी ?
माओवादीभित्र मन्त्रीका लागि दर्जन बढी आकांक्षी देखिएका छन् । तर पहिले मन्त्री भएकालाई प्राय दोहर्याउने मुडमा प्रधानमन्त्री नरहेको बताइएको छ ।

माओवादीबाट मन्त्रीको रुपमा सबैभन्दा बलियो आकांक्षीको रुपमा सिन्धुपाल्चोकबाट निर्वार्चित सासंद माधव सापकोटा रहेका छन् । उनले संसदमा खेलेको भूमिकाप्रति प्रधानमन्त्री प्रचण्ड सन्तृष्ट रहेको बताइएको छ । यसबाहेक राजन दाहाल, छिरिङ लामा,महेन्द्रबहादुर शाही, सूर्यमान दोङ र महेन्द्र राय यादव पनि मन्त्रीका बलिया दाबेदार हुन ।

यसबाहेक राष्ट्रियसभामा रहेका माओवादी सासंद समेत मन्त्रीको लविङमा छन् । कर्णालीबाट शाहीको सम्भावना बढी छ । शक्ति बस्नेतको स्थानमा शाहीलाई पठाउने सम्भावना बढी रहेको स्रोतले बतायो ।

 

प्रतिक्रिया