अस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ


जेनेभा – अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन् ।

कोभिड–१९ ले सङ्कट निम्त्याइरहेको युरोपेली क्षेत्रका कतिपय मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका छन् । पछिल्लो पटक युरोपका सबैभन्दा ठूला देशहरु जर्मनी, इटाली र फ्रान्सले पनि अस्ट्राजेनिका खोप लगाउन तत्काललाई रोक लगाएका छन् । युरोपकै अन्य कतिपय मुलुकले पनि अस्ट्राजेनिका खोप लगाउन बन्द गरिसकेका छन् ।

विश्वमा हाल २६ लाखभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ । यहीबीच विश्व स्वास्थ्य संगठन, अस्ट्राजेनिका कम्पनी र युरोपेली औषधि नियामक निकाय (इएमए) ले अस्ट्राजेनिका खोप सुरक्षित रहेको बताएका छन् । उनीहरुको भनाईमा खोप लगाएका व्यक्तिमा रगत जमेको भन्ने विवरणमा पूर्ण सत्यता छैन ।

विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनले आमजनतालाई नआत्तिन र अस्ट्राजेनिका खोप लगाउने कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

उनले भने, “अध्ययनबाट खोप र रगत जम्ने समस्याबीच कुनै सम्बन्ध देखिएको छैन ।” विश्व स्वास्थ्य संगठन र इएमएका विज्ञहरुले अस्ट्राजेनिकाको खोप अभियानसँग सम्बन्धित विवरणको अलग अलग अध्ययन गर्ने बताएका छन् । इएमएले अस्ट्राजेनिकाको विवरणलाई लिएर के गर्ने भनेर दुई दिनपछि विशेष बैठक गर्न लागेको जनाएको छ ।

अस्ट्राजेनिकाको खोप अहिले विश्व बजारमा सबैभन्दा सस्तो छ । कमजोर आर्थिक स्थिति भएका मुलुकका लागि सहज भएकाले पनि यो खोपको माग बढ्दो छ । युरोप बाहेकका अन्य मुलुकहरुले यो खोप बढी प्रयोग गर्ने सम्भावना छ ।

तैपनि, इन्डोनेसियाले सोमबार अस्ट्राजेनिकाको खोप लगाउन रोकेको छ भने भेनेजुएलाले यो खोप प्रयोग नगर्ने घोषणा गरेको छ ।

यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेका हुन् । विश्वभर अस्ट्राजेनिकाको खोप करिब एक करोड १० लाख डोज लगाइएको छ, तर कुनै समस्या देखिएको छैन ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युरोपका कतिपय मुलुकमा अस्ट्राजेनिका खोप लगाउन रोकिए पनि आफ्ना नागरिकलाई खोप लगाउन आग्रह गरेका छन् ।

कोभिड–१९ को नियन्त्रणमा निकै कठिनाई भइरहेकै अवस्थामा अस्ट्राजेनिकाको खोपको प्रभावकारितालाई लिएर मानिसमा त्रास बढेको छ । नर्वेको राजधानी ओस्लोमा कोरोनाभाइरस फैलिन थालेपछि कडा प्रतिबन्धहरु घोषणा गरिएका छन् । यहाँ माध्यमिक विद्यालयहरु पनि बन्द गरिएका छन् । ओस्लोमा गत साता ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका थिए ।

ओस्लो नगरका मेयर रेमन्ड जोहान्सेनले महामारी फैलिएयता पहिलोपटक यो सबैभन्दा कडा प्रतिबन्ध रहेको जानकारी दिए । ‘यो निकै कठिन र कडा छ, तर यो अत्यावश्यक पनि छ ।’

बोस्नियामा पनि कोभिड अस्पतालहरु भरिभराउ भएका छन् र सरकारले बाध्य भएर आपतकालीन स्थितिको घोषणा गरेको छ ।

अस्पतालका निर्देशक सेबिजा इजेबेगोभिकले फेसबुकमा लेखेको सन्देशमा अस्पतालका कर्मचारीहरु थकित भइसकेको उल्लेख छ । ‘हामी मानिसको जीवन बचाउन हरसम्भव प्रयत्न गर्नेछौं, तर परिस्थिति साँच्चिकै गम्भीर छ । हाम्रा बढीभन्दा बढी कर्मचारीहरु बिरामी पर्न थालेका छन् ।’

इटालीका अधिकांश स्थानमा सोमबार लकडाउन गरिएको छ । यहाँ स्कुल, रेस्टुराँ, पसल र सङ्ग्रहालयहरु सबै बन्द गरिएका छन् । जर्मनीमा सघन उपचारमा संलग्न चिकित्सकहरुले देशमा कोभिडको तेस्रो लहर शुरु हुने खतरा देखिएको भन्दै तत्काल नयाँ प्रतिबन्धहरु घोषणा गर्न अपिल गरेका छन् ।

 

प्रतिक्रिया