पाँच महिनामा पाँच लाख बढी पर्यटक आए नेपाल


काठमाडौं – गत शुक्रबार सकिएको मे महिनामा ९० हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ९० हजार २११ जना पर्यटक नेपाल आएका हुन् । यो गएको वर्षको मे महिनाको तुलनामा १३ हजार जना भन्दा धेरै हो । यस्तै कोरोना महामारी शुरु हुनुअघि अर्थात् सन् २०१९ को भन्दा १२ हजार जनाले बढी हो ।

मे महिनामा सबैभन्दा धेरै भारतबाट ३८ हजार २ सय ८८ जना, अमेरिकाबाट ८ हजार ५२७ जना र चीनबाट ८ हजार ३८१ जना पर्यटक आएका छन् । भारतबाट हवाईमार्ग हुँदै आउनेलाई मात्र सरकारले पर्यटकको सूचीमा राख्ने गरेको छ । तर हवाई मार्गभन्दा गाडीबाट नेपाल आउने भारतीयको संख्या निकै धेरै रहेको छ ।

समग्रमा यो वर्षको पाँच महिनामा नेपालमा पाँच लाख ७ हजार दुई सय ८९ जना पर्यटक आएका छन् । यो अङ्ग्रेजी वर्षको जनवरीमा ७९ हजार एक सय जना, फेब्रुअरीमा ९७ हजार चार सय २६ जना, मार्चमा एक लाख २८ हजार एक सय ७६ जना र अप्रिलमा एक लाख ११ हजार तीन सय ७६ जना पर्यटक नेपाल आएका छन् । नेपाल आउने पर्यटकको संख्या बढेसँगै व्यवसायी पनि उत्साहित बनेका छन् ।

प्रतिक्रिया