सिक्किम विधानसभामा तहल्का मच्चाउने नेपाली भाषी प्रेमसिंह तामाङ काे हुन् ?


काठमाडाैं- सिक्किममा फेरि एकपटक सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) सत्तामा पुनः फर्किएको छ । अप्रिल १९ मा भएको विधानसभा चुनावको नतिजा आइतबार आएको हो । भारत निर्वाचन आयोगका अनुसार ३२ सदस्यीय विधानसभामा एसकेएमले ३१ सिटमा जित हात पारेको हो ।

योसँगै एसकेएमका नेता प्रेमसिंह तामाङ (पीएस गोले) मुख्यमन्त्रीमा दोहोरिने भएका छन् । आफ्नो पार्टीको विशाल जितपछि उनलाई दोस्रो कार्यकाल सुरु गर्न सहज भएको छ ।

सन् २०१९ को चुनावमा एसकेएमले १७ र सिक्किम डेमोक्रेटिक फन्ट(एसडीएफ)ले १५ सिट जितेको थियो । तर, चुनाव जितेको केही दिनमा पूर्व मुख्यमन्त्रीसमेत रहेका पवन चाम्लिङको एसडीएफका १० सांसद भाजपा प्रवेश गरेका थिए । उपनिर्वाचन भएका २ क्षेत्र समेत उसले गुमाएको थियो । पवन चाम्लिङको पार्टीबाट १० सांसद भित्र्याएर दोस्रो ठूलो दल बनेको भाजपा पनि यो चुनावमा बढारिएको छ ।

प्रेमसिंह तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) गठन गरेका थिए । त्यसको अर्को वर्ष भएको निर्वाचनमा एसकेएमले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेको थियो । त्यस्तै उक्त पार्टीले सन् २०१९ को चुनावमा चाम्लिङलाई विस्थापित गरेको थियो । यसपटक भने राज्यबाटै बढारेको छ ।

तामाङको पार्टीले नेपाली समुदायलाई लागेको ‘विदेशी’को ट्याग हटाउने, पञ्चायत चुनाव हटाइनु, शिक्षक, उपप्राध्यापकलगायतका अस्थायीखाले रोजगार दिनु, श्रमिकको ज्याला पनि मासिक १५ हजार भारतीय रुपैयाँ पुगाउनु, गरिबीको रेखामुनि रहेका ५० सिक्किमेली विद्यार्थीलाई एमबीबीएस पढाउने योजना, एक वर्षे सुत्केरी बिदा, विद्यार्थी र किसानलाई विभिन्न सहयोग र अनुदानलगायतका योजनाका कारण विशाल सिट जितेको बताइएको छ ।

मन्त्री नपाएपछि गरिएको विद्रोह
नेपाली भाषी प्रेमसिंह तामाङको ५ फेब्रुअरी १९६८ मा जन्मिएका थिए । उनले दार्जिलिङको एक कलेजमा बीएसम्मको अध्ययन गरेका छन् । त्यसपछि उनले शिक्षकका रुपमा काम गरे । ३ वर्षको अध्यापनपछि उनले समाजसेवामा काम गर्न भन्दै जागिर छाडे ।

त्यसपछि उनी सिक्किम डेमोक्रेटिक फ्रन्टमार्फत राजनीतिमा सक्रिय भएकमा थिए ।तीन दशक लामो राजनीतिक जीवन उनको उतारचढावमय रह्यो । उनी सन् १९९४ पछि लगातार पाँच पटक सिक्किम विधानसभामा चुनिए । उनले मन्त्रीको भूमिकासमेत निर्वाह गरे ।

सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारको चौथो कार्यकाल (२००९–०१४) मा उनले मन्त्री पद मगेका थिए । तर, पवन चालम्लिङले तामाङलाई मन्त्री पद दिन अस्वीकार गरे । त्यसपछि तामाङले उक्त पाटीमा विद्रोह गरेर परित्या गरेका थिए । पार्टी छाडेपछि तामाङले आफ्नै नेतृत्वमा नयाँ पार्टी एसकेएम गठन गरे ।

एकपटक गइसकेका छन् जेल
तामाङले एकपटक जेल जीवन बिताइसकेका छन् । उनी भ्रष्टाचारको आरोपमा जेल परेका हुन् । २०१६ मा जेल गएपछि उनको विधानसभा सदस्यता खारेज भएको थियो । सन् २०१८ मा जेलबाट रिहा भएपछि उनी फेरि राजनीतिमा सक्रिय भएका थिए ।

नेपालसँग सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं राज्य बन्न पुगेको थियो । त्यसअघि भने यो स्वतन्त्र राष्ट्र थियो । आन्तरिक राजनीतिक द्वन्द्व चर्केर परनिर्भरता बढ्दै गएपछि त्यहाँको संसद्ले नै भारतमा गाभिने प्रस्ताव पारित गरेपछि त्यहाँ जनमत संग्रह भएको थियो । संग्रहमा सिक्किम भारतमा गाभिनुपर्ने भन्दै बढी मत आएपछि त्यो देशको स्वतन्त्र इतिहास समाप्त भएको थियो ।

 

प्रतिक्रिया