भारतमा अन्तिम दिन मतदानमा खटिएका ३३ कर्मचारीको हृदयघातका कारण मृत्यु
लखनऊ- देशभर बढिरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तीमा ३३ मतदानस्थलमा खटिएका कर्मचारीको हृदयाघातका कारण मृत्यु भएको एक शीर्ष निर्वाचन अधिकारीले आइतबार बताएका छन् ।
भारतका विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमका कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार, उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ ।
सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ कर्मचारीको मृत्यु भएको बताए । तथ्यांकमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारी समेत समावेश छन् ।
“मृतकको परिवारलाई १५ लाख भारतीय रुपैयाँ (१८ हजार अमेरिकी डलर)को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ,” रिन्वाले पत्रकारलाई बताए ।
जब कोही व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अंगहरूले काम गर्न छोड्ने भई मृत्यु हुने विशेषज्ञ बताउँछन् । “बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए । मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो, जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो,” रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउँदै भने ।
बढ्दो तापक्रमसँग भारत अपरिचित छैन । तर, जलवायु परिवर्तनले तातो हावा लामो, बारम्बार र तीव्र हुँदै गइरहेको वर्षौँको वैज्ञानिक अनुसन्धानले पत्ता लगाएको छ ।