बजेट इमानदारीपूर्वक कार्यान्वयन गर्छाै : मन्त्री भण्डारी


काभ्रेपलाञ्चोक – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट इमानदारीपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको आज बनेपामा आयोजित ४२औँ साधारणसभामा उनले आगामी आवका निम्ति निर्धारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाका सम्भावना खोज्नुपर्ने बताए । उनले भने, ‘हाम्रो वरपरका विकासका ‘सम्भावनाका ढोका’ खोल्न सरकार प्रतिबद्ध छ, नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवसायीका अधिकांश माग सम्बोधन भएका छन् ।

विगतका नीति तथा कार्यक्रमबीच तालमेल नमिल्दा धेरै योजना ओझेलमा परेको उनले जनाए । आन्तरिक, बाह्य तथा राजनीतिक कारणले देशको आर्थिक अवस्था केही सङ्कुचित भएको तर्क गर्दै मन्त्री भण्डारीले रोजगारी सिर्जनालाई नै केन्द्रमा राखेर काम गर्नु अहिलेको आवश्यकता भएको बताए ।

त्यस अवसरमा वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले व्यवसायलाई गतिशील बनाउन सरकार र उद्यमी–व्यवसायीबी सहकार्य हुनुपर्ने तर्क गरे ।

वाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र वादे, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नेपाल उद्योग वाणिज्य महासङघका सदस्यद्वय सुरकृष्ण वैद्य र हेमराज ढकाल, सङ्घको वाग्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठलगायत व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले अधिवेशन सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया