गृहमन्त्री लामिछानेको निर्णयविरुद्ध सर्वोच्चमा रिट


काठमाडाैं- गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।  ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सडकमा स्वयंसेवकको रूपमा खटाउने निर्णयविरुद्ध निवेदन दायर भएकाे हाे ।

रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, ईमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिटमा उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेशको माग गरिएको छ।

‘सो कार्य तत्काल बन्द नगरिए कानूनको उल्लघंन भई नागरिकहरुका मानव अधिकारको समेत हनन हुने र संविधान विपरितका कार्यहरुले प्रोत्साहन पाइरहने हुँदा र जनताको स्वतन्त्रताको हक, सम्मानपूर्वक बाच्न पाउने हक, न्यायको हक, शोषण विरुद्धको हक, यातना विरुद्धको हकको समेत हनन भएको हुँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ वमोजिम उक्त कार्य तत्काल नरोकिए नागरिक अधिकार तथा स्वयंसेवकका रुपमा तालिम प्राप्त नभइ खटिएका व्यक्तिहरुको भविष्यमा पर्ने खतरा समेत प्रहरी प्रशासनबाट भएको हुँदा सो नगर्नु नगराउनु भनि विपक्षीहरुका नाममा उत्प्रेषण सहितको अन्तरिम आदेश जारी गरी पाउँ’, रिटमा माग गरिएको छ ।

गणतन्त्र दिवसका दिन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमा लेख्दै मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयंसेवकका रुपमा साटो सडकमा सघाउने बताएका थिए ।

 

प्रतिक्रिया