वीरमा रोकिएन भ्रष्टाचार, विभिन्न निकायमा उजुरी, छानबिन र कारवाहीको माग


काठमाडौं – मुलुककै सबैभन्दा जेठो र ठूलो अस्पताल मानिएको वीर अस्पतालमा हुने गरेको भ्रष्टाचार र अनियमितता पछिल्लो समय झन् मौलाउँदै गएको छ ।

लामोसमयदेखि भ्रष्टाचार अनियमितताको थलो बन्दै आएको वीरको अनियमितताविरुद्ध केही कर्मचारीहरुले आवाज उठाएका छन् । वीर अस्पतालका कर्मचारीहरुले भ्रष्टाचार र अनियमितताबारे प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्पत्ति शुद्धिकरण विभागमा समेत अनुसन्धान, छानबिन र सजायको माग गरेका छन् ।

पछिल्लो समय वीर अस्पतालको मेडिकल स्टोर, जनरल स्टोर, खरिद एकाई, अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता देखिएको भन्दै छानबिनको माग गर्दै उजुरी दिइएको हो । वीर अस्पताल फार्मेसीमा स्वास्थ्य विमालगायतको औषधीहरु नभएको जनाइएको छ । कमिसनकै चक्करमा समयमा औषधी पनि मगाइएको छैन । त्यसका साथै कतिपय फार्मेसीमै पाइने औषधी पनि बाहिर मेडिकलसँग कमिशनको चक्करमा किन्न लगाउने गरेको समेत जनाइएको छ ।

निर्देशक डा. सन्तोष पौडेल, स्टोरका टिकाराम पनेरु खरिदका प्रमुख र केही सदस्य तथा प्रशासन प्रमुख, शाखा अधिकृतले विभित्र सामान, उपकरणको खरिदमा पनि अनियमितता गरेको जनाइएको छ । त्यस्तै कर्मचारी भर्नामा पनि केही व्यक्तिहरूले ३ लाखसम्म रकम उठाएको पनि उजुरीमा जनाइएको छ ।

त्यस्तै नर्सिङका केहि प्रमुख काम नगर्ने खालि तालिम, गोष्ठी मात्रै भनेर भत्ता मात्रै खाने अस्पताल अनुगमन नगर्ने, नर्सिङको समस्या नबुझ्ने, पैसा कमिसन नदिने सहायक नर्सलाई तालिममा नपार्ने, पैसा नदिने नर्सलाई पटकपटक सरुवा गरेर दुःख दिने गरेको जनाइएको छ ।

त्यसैले उनीहरूले जसरी पनि वीर अस्पतालको गैरवलाई कायम राख्नका लागि दोषीहरू उपर छानबिन गरी कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया