सदनलाई गतिशील गराएर अगाडि बढाउने मानसिकता सत्तापक्षमा छैन : बालकृष्ण खाँड


काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले सत्तारुढ दल संसदलाई अगाडि बढाउने मानसिकतामा नरहेको आरोप लगाएका छन् ।

सोमबार संसदको कार्य व्यवस्था तथा परामर्श समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक खाँडले सत्ता पक्ष संसदलाई गतिशील र प्रभावकारी ढंगले अगाडि बढाउने पक्षमा नरहेको आरोप लगाएका हुन् । मंगलबार संसदको बैठक बस्ने भएपनि सरकारले हालसम्म कुनैपनि ‘बिजनेस’ नदिएको उनको भनाइ छ ।

‘सत्तापक्ष सदनलाई गतिशील गराएर प्रभावकारी रुपमा अगाडि बढाउने मानसिकतामा आजको मितिसम्म छैन,’ खाँडले भने । सरकारले जारी गरेका अध्यादेश सदन चलेका बेलामा विधेयककै रुपमा अगाडि बढाउनुपर्ने भएपनि ती अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा पनि सरकार गम्भीर नभएको खाँडले बताए ।

खाँडले संसदीय परम्परा अनुरुप संसद आरम्भ हुँदा सबै दलको शुभकामना मन्तव्य राख्न पनि सरकारले अभिरुचि नदेखाएको बताए ।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया