करोडौंका स्वास्थ्य उपकरण तथा मेसिन प्रयोगविहिन


काठमाडौं– स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा उपलब्ध गराएको भेन्टिलेटर, डायलाइसिस मेसिन लगायतका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोगमा नरहेको पाइएको छ ।

महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन अनुसार विभागले खरिद गरी विभिन्न अस्पतालमा उपलब्ध गराएको उपकरण प्रयोगविहिन अवस्थामा रहेको पाइएको हो ।

स्वास्थ्य सेवा विभागले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई उपलब्ध गराएको १ करोड ३० लाख मूल्यको ७ थान हेमोडाइलासिस मेसिन, कोशी अस्पतालमा उपलब्ध गराएको २१ लाख १० हजारको १० थान वाइपाप मेसिन र ७४ लाख ८२ हजारको २ थान भेन्टिलेटर मेसिन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा हस्तान्तरण भएको १० करोड ६९ लाख १ हजारको ४५ थान भेन्टिलेटर सहितका उपकरण प्रयोगमा ल्याइएका छैनन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले २०७९ सालमा खरिद गरेको १ करोड ४८ लाख ८४ हजारको अर्थोस्कोपी मेसिन र ओटी टेबुललगायतका उपकरणसमेत प्रयोगमा नआएको महालेखाले जनाएको छ ।

स्वास्थ्य सेवा विभागले अस्पतालहरूको मागवेगर नै उपकरण खरिद गरी अस्पतालहरूलाई हस्तान्तरण गर्ने, मूल्य नखुलाउने, वारेन्टी ग्यारेन्टीका कागजातहरू हस्तान्तरण नगर्नेलगायतका समस्याहरू देखिएको महालेखाले जनाएको छ।

मन्त्रालयले गत विगत वर्षदेखि विभिन्न अस्पतालमा रहेका र यो वर्ष खरिद भएका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरेको छैन । मेसिन उपकरणको अतिरिक्त आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनमा रहेका सामग्रीको एकीकृत लगत राखी सोको प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

 

 

 

 

 

प्रतिक्रिया