कक्षा ८ को रिजल्टमा गडबड गर्ने ५ जना पक्राउ


नेपालगन्ज-  बाँकेको कोहलपुरमा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा ‘इन्ट्री’ गरेर परीक्षाफलमा गडबडी गर्ने ५ जनालाई प्रहरीले पक्राउ  गरेको छ ।

कक्षा आठको उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा अनियमितता पुष्टि भएको थियो ।

छानबिन समितिको प्रतिवेदनले  नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तर पुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका अनियमितता गरेकाे देखाएकाे छ ।

प्रतिवेदनका आधारमा दोषी देखिएका १५ जना मध्ये १२ जनाको नाममा २०८१ जेठ १ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मुद्दा दर्ता भएको थियो । सोही अन्तर्गत आभास विक्रम क्षेत्री, उमेश केसी, कुवेर ढकाल, शिक्षण सहजकर्ता रोमिना खत्री र रमेश कुमार थारुलाई पक्राउ गरेकाे  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

उनले सो अनियमिततामा संलग्न अन्य व्यक्तिहरू पनि केही दिनमै पक्राउ पर्ने बताए ।

२०८० चैत २ गतेदेखि ९ गतेसम्म कक्षा ८ को परीक्षा सुरु भएको थियो भने चैत २३ गते नतिजा प्रकाशित भएको थियो ।

 

प्रतिक्रिया