नेपालमा पर्यटन र यातायातका लागि उड्डयन महत्वपूर्णः महानिर्देशक अधिकारी


काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी साउदीको रियादमा आयोजित ‘फ्युचर एभिएसन फोरम–२०२४’ मा सहभागि भएका छन् । उक्त अवसरमा अधिकारीले नेपाली परिप्रेक्ष्यमा उड्डयनका चुनौति र अनौठो पक्ष र नेपालमा विभिन्न क्षेत्रमा लगानीका अवसरहरू उजागर गरेका थिए ।

उक्त अवसरमा अधिकारीले नेपालका ५५ वटा विमानस्थलले वार्षिक एक करोडभन्दा बढी यात्रुलाई सेवा दिने भएकाले सीमित सडक पूर्वाधारका कारण नेपालमा उड्डयन यातायातका लागि महत्वपूर्ण रहेको जनाए ।

उनले उच्च उचाइ र अप्रत्याशित मौसम जस्ता चुनौतिहरूको बाबजुद पनि व्यापार, पर्यटन र आन्तरिक सम्पर्कका लागि उड्डयन महत्त्वपूर्ण भएको समेत बताए ।

उनले जलवायु परिवर्तनले ठूलो खतरा, नदी र हिमाललाई असर गर्ने र प्राकृतिक प्रकोप निम्त्याउने गरेको बताए ।

लगानीका प्रमुख क्षेत्रहरूमा पर्यटन, जलविद्युत र उड्डयन, साहसिक पर्यटनका अवसरहरू, सगरमाथा जस्ता प्राकृतिक आकर्षण र कृषि समावेश छन्, उनले भने, ‘लगानीमैत्री नीति र पूर्वाधार विकासले नेपाल पर्यटन हब बन्ने लक्ष्य राखेको छ ।’

यसबाहेक, नेपालमा जलविद्युतको पर्याप्त सम्भावना र उर्वर जमिन र पर्याप्त जलस्रोतबाट कृषि लाभ प्रदान गर्ने बताए।

प्रतिक्रिया