बागलुङको गल्कोट–४ ले लगायो वाइवाइ चाउचाउ किनबेचमा प्रतिबन्ध


काठमाडाैं- बागलुङको गल्कोट नगरपालिकाले चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ किनबेचमा पूर्ण प्रतिबन्ध लगाएको छ ।  वडा नम्बर ४ काे कार्यालयले आफ्नो क्षेत्रभित्र वाइवाइ किनबेच गर्न नदिने निर्णय गरेको हो ।

कार्यालयले सूचना जारी गर्दै कसैले वाइवाइ चाउचाउ बेच्न राखेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

‘उपरोक्त सम्बन्धमा चौधरी ग्रुपको वाइवाइ चाउचाउलाई काठमाडौं महानगरपालिकाले परीक्षण गरी उक्त चाउचाउमा क्यान्सरजस्तो आत्माघाती तत्व प्रमाणित भएकाले उक्त चाउचाउ गल्कोट नगरपालिका वडा नम्बर ४ भित्र किनबेच गर्नका लागि पूर्णरुपमा प्रतिबन्ध गरिएको’, सूचनामा उल्लेख छ ।

चौधरीको सिजी ग्रुपले उत्पादन गरेको वाइवाइ चाउचाउमा क्यान्सर हुनसक्ने घातक रसायन भेटिएको थियो । काठमाडौं महानगरपालिकाले गत वैशाख १२ गते गुणस्तर परीक्षणका क्रममा एसिड भ्यालु अत्याधिक बढी पाएपछि कम्पनीलाई दुई लाख रुपैयाँ जरिवानासमेत तिराएको थियो ।

त्यस्तै वाइवाइको ब्याच नम्बर ६० जीएमआरएस २० एआर वाइएल २३ सीएचआइ २०८० को उत्पादन सबै बजारबाट फिर्ता लिन निर्देशन दिइएको थियो ।

प्रतिक्रिया