जसपा अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री ओलीले राखेका प्रस्ताव यस्ता छन्, तेस्रोले पुर्‍याउँछ ५ पुस


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई तीन प्रस्ताव गरेका छन्।

सत्ता साझेदारीको विषयमा वार्ता चलिरहेका बेला अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीले राखेका तीन प्रस्तावबारे खुलासा गरेका हुन्। प्रधानमन्त्री ओलीले ठाकुरसँगको वार्तामा राखेको पहिलो प्रस्ताव सरकारमा सहभागीता जनाउन हो।

ठाकुर भन्छन्,‘दोस्रोचाहिँ सरकारमा नआए समर्थन दिनुहोस् भन्नुभयो, ओलीजीको तेस्रो प्रस्तावचाहिँ समर्थन पनि नदिने भए अर्को गठबन्धनमा नगई तटस्थ बस्नुहोस् भन्ने छ।’

प्रधानमन्त्री ओलीका तीन प्रस्तावका प्रभावबारे पनि अनुमान लगाउन सकिन्छ। जसपाले समर्थन गरे यहि सरकार निरन्तर चल्नेछ। सरकारमा सहभागी भए त अनिवार्य समर्थन हुने नै भयो।

तर तेस्रो प्रस्ताव भने जसपा तटस्थ बस्दा प्रतिनिधि सभा विघटनकै बाटोतिर जाने र निर्वाचनमा जानुपर्ने हुन्छ। माओवादी केन्द्रले समर्थन फिर्ता लिने र ओलीले कसैको विश्वासको मत नपाएको खण्डमा संविधानसम्मत प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावको बाटोमा मुलुक लाग्नेछ।

यसले ५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन सिफरिसको निर्णय ठिक भन्ने पुष्टि पनि गराउने रणनीति रहेको बुझिन्छ।

प्रतिक्रिया