

राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज (सोमबार) कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन् ।
राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको खोप केन्द्रमा अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस विरुद्धको दोस्रो खोप अभियान अन्तर्गत नेपालमा हाल ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मूनिका नागरिकलाई खोप दिने सरकारको योजना छ ।
नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाएका थिए ।

