गृहमन्त्री लामिछानेको ठाडो निर्देशनपछि निजी गाडीमा भक्तपुर पुगेका सिरोहियालाई प्रहरीको भ्यानमा कोचेर धनुषा पुर्याइयो


काठमाडौं – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नका लागि कान्तिपुर दैनिकको कार्यालयमा पुगेका प्रहरी समक्ष सिरोहियाले आफ्नै गाडीमा जान पाउनुपर्ने र कानुन व्यवसायीलाई साथै लैजानुपर्ने माग गरेका थिए ।

सिरोहियाको सो मागपछि पक्राउ गर्न गएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीहरुले त्यसो गर्न नमिल्ने जनाइरहेका बेला सिरोहियाले प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरलाई आफैंले फोन गरेर आफ्नै गाडीमा जान पाउनुपर्ने बताएपछि कान्तिपुर पब्लिकेशन परिसरबाट बाहिर निकालियो ।

सिरोहियाको माग अनुसार प्रहरीले सम्पादक उमेश चौहानका साथ सिरोहियाकै कानुन व्यवसायी पनि निजी गाडीमै कार्यालयबाट बाहिर निकालेर जनकपुरतर्फ लैजान लागेको थियो ।

सिरोहियालाई पक्राउ गरिएको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरलाई निजी गाडीमा किन लगेको ? किन प्रहरीको गाडीमा नलगेको ?  भनेर प्रश्न गर्दै प्रहरीको भ्यानमै लैजान ठाडो निर्देशन दिए । लामिछानेले त्यस अवसरमा आईजी कुँवरलाई अपशब्द नै प्रयोग गरी तुरून्त प्रहरीकै भ्यानमा राखेर लैजान ठाडो निर्देशन दिएको प्रहरी स्रोत बताउँछ ।

गृहमन्त्रीको ठाडो निर्देशनपछि प्रहरीले सिरोहियालाई भक्तपुरमा बिचबाटोमै निजी गाडीबाट प्रहरीको भ्यानमा चढाएर जनकपुरतर्फ हिँडेको थियो भने उनको निजी गाडीमा कान्तिपुर दैनिकका सम्पादक उमेश चौहान र कानुन व्यवसायीलगायत जनकपुर पुगेका थिए ।

प्रहरीले यसअघि पक्राउ परेका कतिपय व्यक्तिहरुलाई जहाजमार्फत् सम्बन्धित जिल्लामा लैजाने र ल्याउने गरेकोमा सिरोहियालाई किन रातारात गाडीमै जनकपुर पुर्यायो भन्ने प्रश्न पनि एकातिर उठेको छ । केही महिनाअघि कपिलवस्तुबाट पक्राउ परेका कृष्णबहादुर महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएको प्रहरीले कान्तिपुर अध्यक्ष सिरोहियालाई भने गाडीबाट जनकपुर लैजान पनि गृहमन्त्री लामिछानेले निर्देशन दिएको बुझिएको छ ।

प्रतिक्रिया