हुम्लामा औषधी अभाव
सिमकोट- हुम्लाको एक मात्र जिल्ला अस्पतालमा औषधी अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन् । मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधी अभाव हुँदा समस्या भइरहेको छ ।
१५ शय्याको जिल्ला अस्पतालमा गत वैशाखदेखि औषधी अभाव हुँदा चिकित्सकले लेखेका औषधी निजी मेडिकलबाट किनेर सेवन गर्न बाध्य भएको बिरामीको गुनासो छ । पानी नपर्दा यो समय अस्पतालमा बिरामीको चाप बढेको छ । रुघाखोकी, झापापखालालगायत रोगका औषधी वितरण कक्षमा नपाउने गरेको सेवाग्राहीको गुनासो छ । अस्पतालमा पाइने निः शुल्क औषधीसमेत नभएको खार्पुनाथ गाउँपालिका-३ रायाका धनबहादुर टमटाले गुनासो गरे ।
बहिनीको उपचारका लागि दुई दिनदेखि भर्ना भएर अस्पतालमा बसेको भन्दै चिकित्सकले लेखेको औषधी निजी मेडिकलबाट किन्नु परेको उनले बताए । चार हजारसम्मको औषधी निजी मेडिकलबाट किनेको भन्दै अस्पतालमा भिटामिनसमेत नभएको टमटाले गुनासो गरे । अस्पतालको औषधी वितरण कक्षमा जाँदा औषधी नपाएर निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको सिमकोट गाउँपालिका-२ ठेहेका झप्री सुनारले बताए ।
निजी मेडिकलबाट औषधी किन्न आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको उनको भनाइ छ । वैशाख यतादेखि अस्पतालमा बिरामीको चाँप बढेको (मेडिकल अफिसर) तथा डाक्टर सुर्जनकुमार सिंहले बताए । उनको अनुसार आइतबार र सोमबार मात्रै ८०-८० जनाले सेवा लिएका छन् । अन्य दिनमा ५० जना भन्दा कम नहुने डा.सिंहले जानकारी दिए । लामो समय हुम्लामा पानी नपर्दा मौसमी बिरामीको चाप थपिँदै आएको उनको भनाइ छ ।
गाउँघरबाट एक-दुई दिनको पैदल हिँडेर सवारी पुगेको ठाउँबाट जिल्ला अस्पतालमा उपचारका लागि बिरामी आउने गरेका उनले बताए । डा.सिंहले भने, “अस्पतालमा औषधीको अभाव छ । इमर्जेन्सी, सघन उपचार कक्ष सेवाका लागि भर्ना भएका बिरामीले समेत उल्टी रोक्ने औषधी नभए गुनासो गरिरहेका छन् ।” बहिरङ् (ओपिडी) मा औषधी अभाव रहेको उनले बताए । अस्पतालमा औषधीको अभाव भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले स्वीकार गरे ।
हवाई उडान नभएकाले खरिद गरेर हुम्ला ल्याइने औषधी नेपालगन्जमा थन्किएकाले समस्या भएको उनले जानकारी दिए । अबको एक/दुई दिनमा हवाई उडान सञ्चालन भएमा नेपालगन्ज थन्किएका औषधी ढुवानी भएर यहाँ आइपुग्ने प्रमुख सिंहले बताए ।