

विश्वासको मत लिँदा संसद् अवरोध गरेकाे कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससाग आक्रोशित बनेका छन् । प्रचण्डले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसले गरेको अवरोधको मूल्य कांग्रेसले चुकाउनुपर्ने चेतावनी दिए ।
‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक-पटक साथ दियो । योपटक पनि संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ । तर विश्वासको मत लिन नदिएर तपाईंहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो’, प्रधानमन्त्रीले भने, ‘यसको निम्ति गहिरो दुःख व्यक्त गर्दछु । कांग्रेसको लागि यसको मूल्य चर्को पर्नेछ । कांग्रेसको लागि यो कलंकको रुपमा स्थापित हुनेछ ।’
कांग्रेसको अवरोधबीच प्रधानमन्त्रीले विश्वासको मत दिन आग्रह गरेका छन् । लगत्तै सभामुख देवराज घिमिरेले मत विभाजन गराएका हुन् ।

