गुणस्तरहीन अलकत्रा सप्लाई गर्दै गोयल, निर्माण व्यवसायीद्वारा कारबाहीका साथै क्षतिपूर्तिको माग


काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सडक कालोपत्रे गर्दा प्रयोग गरिने अलकत्रा (बिटुमिन) को कम गुणस्तर भएको भन्दै बिक्रेतासँग क्षतिपूर्तिको दाबी गरेको छ ।

बिटुमिनका मुख्य बिक्रेता सुरेन्द्रकुमार गोयलको स्वामित्वमा रहेको अरबिन्द इम्पोरियमले बिक्री गरेको विटुमिन कम गुणस्तरको भेटिएपछि महासंघले बिक्रेतामाथि कारबाहीको माग गर्दै निर्माण व्यवसायीले भोगेको क्षतिको क्षतिपूर्ति समेत दाबी गरेको छ ।

कम गुणस्तरको बेचेको परीक्षणबाट खुलेपछि निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले औपचारिक रुपमा पत्र नै लेखेर गोयलको कम्पनीबाट बिटुमिन खरिद नगर्ने चेतावनी समेत दिएको छ ।

महासंघका महासचिव रोशन दाहालले अरविन्द इम्पोरियमलाई पत्र लेखेर भनेका छन्, ‘यस महासंघका सदस्य वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिलाई त्यस अरविन्द इम्पोरियम प्रालिले गुणस्तरहीन बिटुमिन सप्लाई गरेको जानकारी प्राप्त भएको व्यहोरा जानकारी गराउँदै सोप्रति यस महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

इम्पोरियमले कमसल बिटुमिन सप्लाई गरेर वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन, दाङको घोराही उपमहानगरपालिका र नेपाल सरकारलाई समेत मारमा पारेको भन्दै महासंघले विकास निर्माणको काममा भएको सम्पूर्ण हानी नोक्सानीको क्षतिपूर्ति दिन भनेको छ ।

महासंघले गोयलको कम्पनीलाई लेखेको पत्रमा भनिएको छ, ‘सप्लाई कम्पनीले उक्त निर्माण कम्पनीलाई भएको आर्थिक क्षतिपूर्ति नदिएको खण्डमा महासंघ सबै निर्माण व्यवसायी सदस्यहरुलाई त्यहाँ कम्पनीको बिटुमिन खरीद नगर्न नगराउन भनी पत्राचार गर्न बाध्य हुने व्यहोरासमेत अवगत गराउँदछौं ।’

एक निर्माण व्यवसायीले गोयलबाट खरिद गरिएको बिटुमिनको ल्याब परिक्षण गर्दा समेत कम गुणस्तरको पाइएको छ ।

 

 

प्रतिक्रिया