हामीले सरकार छोड्ने निर्णय गरेका छैनौं : झलनाथ खनाल


काठमाडौं – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीले सरकार छोड्ने निर्णय नगरेको बताएका छन् । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको छलफलका लागि सोमवार आयोजित पार्टीको पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीहरुसँग उनले सो कुरा बताएका हुन् ।
नेता खनालले पार्टीको राजनीतिक प्रतिवेदनमा पनि सरकार छाडने कुरा उल्लेख नभएको स्पष्ट पारे । उनले पार्टीको राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनमाथि भोलिबाट सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकमा थप छलफल हुने पनि जानकारी दिए ।
नेकपा एसले मंगलवारबाट ललितपुरको कान्तिपुर गार्डेनमा पार्टी केन्द्रिय कमिटी बैठक बोलाएको छ । नेता खनालले दुई दिनसम्म चल्ने सो बैठकमा महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम र विधान संशोधनका विषयमा छलफल गरी टुंगो लगाउने बताए ।
नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुको बारेमा छलफल गर्न आयोजना गरिएको पोलिटब्युरो बैठक आज सम्पन्न भएको छ । यसअघि पार्टीको स्थायी कमिटी बैठक बोलाइएको थियो । मंगलवारबाट केन्द्रिय कमिटीको बैठक सुरु हुने र त्यसले ती दस्तावेजहरुलाई अन्तिम रुप दिने नेकपा एसले जनाएको छ ।

प्रतिक्रिया