नेकपा एस फुट्ने निश्चित, इतिहासकै ‘संकट’ घडीमा माधव नेपाल


काठमाडाैं- जनता समाजवादी पार्टी फुटेपछि अब नेकपा एकीकृत समाजवादी(एस) पनि फुटको संघारमा पुगेको छ ।

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । तर, त्यो अगावै धेरै केन्द्रीय सदस्यले पार्टी त्याग्ने तयारी गरेको स्रोतले दाबी गरेको छ ।

पार्टीका बहुसंख्यक सदस्य आफ्नै मातृ पार्टी नेकपा एमालेमा फर्किन लागेपछि नेकपा(एस) का अध्यक्ष माधवकुमार नेपाल संकटमा परेका हुन् । आगामी महाधिवेशनमा प्रस्तुत गरिने अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमा संविधान र लोकतन्त्रलाई मास्न पनि बेर नलगाउने पार्टीका रूपमा एमालेलाई चित्रित गरिएको छ । उक्त प्रतिवेदनमा एमालेलाई ‘वर्गशत्रु’ भनि किटान गरेको भन्दै धेरै सदस्यले आपत्ति जनाएका छन् ।

धेरै नेता तथा कार्यकर्ता एमालेमै फर्किने तयारी गरेको अवस्थामा नेपालले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेकै भएर भोलि(मंगलबार) बस्ने केन्द्रीय कमिटी बैठकमा केही नेता–कार्यकर्ताले उनलाई कालो झण्डासमेत देखाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनले पार्टीमा आफूखुसी गर्न थालेपछि कार्यकर्ता रुष्ट बनेका हुन् ।

उसो त प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले पनि नेपाल नेतृत्वको नेकपा एसलाई सरकारबाट बाहिर पठाउने तयारी थालेको बुझिएको छ । सुदूरपश्चिम प्रदेश सरकारमा आफूले पहिलै कारबाही गरेका दिर्घ सोडारीलाई नाईं भन्दाभन्दै नेकपा एसले मुख्यमन्त्री बनाएको भन्दै सत्ता साझेदार दलका अध्यक्ष ओली रिसाएका छन् । त्यही कारण उनलाई विश्वासको मत दिन एमालेले आनाकानी गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशको बैठक बैठक जेठ ३ गते आह्वान गरिएको छ । सोही बैठकबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेका छन् । तर, एमालले उनलाई विश्वासको मत दिने कुनै तयारी गरेको छैन ।

यस्तै कांग्रेससँग मिलेर नयाँ सरकार बनाउनको लागि माधव नेपालले सक्रिय भूमिका खेलेको कुरा जानकारी पाएपछि प्रधानमन्त्री दाहालले पनि नेपाल नेतृत्वको नेकपा एसलाई बाहिर फाल्ने निर्णय लिन लागेको बताइएको छ ।

नेकपा एस बाहिरै रहेपनि आफ्नो सरकार जोगिने देखेपछि प्रचण्डले ओलीसँग मिलेर माधवलाई पन्छ्याउन खोजीरहेको स्रोत बताउँछ ।

उसो त आफ्नो पार्टीको खासै मतलब नगरिरहेकाले स्वयम् अध्यक्ष नेपाल पनि गठबन्धन छाड्ने मनस्थिती बनाइरहेको पार्टीका सदस्यहरु बताइरहेका छन् ।

 

प्रतिक्रिया