हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइयो : मन्त्री यादव


‘काठमाडौं – सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको झुण्ड प्रयोग गरेर पार्टी फुटाइएको बताएका छन् ।

मधेसी स्वास्थ्यकर्मी फोरमको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री यादवले अतृप्त आत्माहरुको हतास मानसकिता भएकाहरुलाई प्रयोग गरेर पार्टी फुटाइएको बताएका हुन् ।

उपप्रधानमन्त्री यादवले २/४ जना लोभी पापीहरुले पार्टी फुटाउँदैमा युद्ध जिते जस्तो सोच्नु दिवा स्वप्ना मात्रै रहेको बताएका छन् । निर्दलीय व्यवस्थाबिरुद्ध लडेका कांग्रेस कम्युनिष्टबिरुद्ध पनि यस्तै षड्यन्त्र हुने गरेको उनको भनाइ थियो ।

उनले पार्टीबाट केही लोभीहरु अलग्गिँदैमा जसपा नेपाल कमजोर नहुने दाबी गर्दै अब जसपा नेपाल थप गतिका साथ अगाडि बढ्ने दावी गरे । उनले मधेसको मुद्दा र संघीयता संस्थागत गर्नका लागि पार्टी थप उर्जाका साथ सडक, संसद तथा सरकारमा संघर्ष जारी राख्ने बताए ।

अर्को प्रसंगमा उपप्रधानमन्त्री यादवले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र सोको तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया