संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : निधि


जनकपुरधाम- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका छन् ।  नेता निधिले जनकपुरमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै वर्तमान सत्तापक्षले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन नदिएको आरोप लगाए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी प्रकरणको आरोप सत्य हो वा होइन भन्ने विषयको संसदीय छानबिनमार्फत छिनोफानो हुनुपर्ने उनको भनाइ थियो ।

“गृहमन्त्री लामिछानेले संसद्‌मा स्पष्टीकरण दिएर मात्र हुँदैन, त्यसका लागि संसदीय छानबिन समिति गठन नै एक मात्र निकास हो”, नेता निधिले भने । छानबिन समिति गठन गर्न सरकार तयार नभएसम्म सदन चल्न नदिने अडान दोहोर्याउँदै उनले सांसदहरुले जनसरोकारका विषय सदनमा  उठाउन नपाएपछि सदनको बैठक बस्नुको कुनै अर्थ नरहेको स्पष्ट पारे ।

चितवन, भैरहवा तथा पोखरामा सहकारीमा भएका अनियमितताबारे प्रहरीले छानबिन समेत गरेको नेता निधिले उल्लेख गरे । फरक प्रसङ्गमा उनले मुलुकभरिका आगलागी पीडितलाई सरकारी पक्षबाट आवश्यक सहयोगका लागि उनले आग्रह गरे ।

प्रतिक्रिया