

भारतमा नेपाली बालिकाको अपहरण, एकदिनपछि उद्वार

काठमाडौं- भारतको नयाँ दिल्लीबाट अपहरणमा परेकी एक नेपाली बालिकाको सकुशल उद्धार गरिएको छ ।
बैतडीको मेलौली नगरपालिका –३ कुजागाड चिनाड घर भएकी १० वर्षीया हेमन्ती चन्द सोमबार दिउँसो नयाँ दिल्लीको कोटला भन्ने स्थानबाट अपहरणमा परेकी थिइन् ।
मंगलबार राति १० बजे मेहरोलीको छत्रपुर मेट्रो स्टेशनबाट उनको सकुशल उद्धार गरिएको आफन्तले जनाएका छन् ।
पसलमा सामान किन्न गएकी हेमन्तीलाई अज्ञात व्यक्तिले लगेको दृश्य सीसीटीभी फूटेजमा देखिएको थियो । सोही आधारमा खोजी गर्दा चन्दको सकुशल उद्धार गरिएको र अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ ।
हेमन्तीका बुवा जनक चन्द रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका छन् । आफ्नी हजुरआमासँगै हेमन्ती पनि घुम्नका लागि नयाँ दिल्ली पुगेका बेला अपहरणमा परेकी थिइन् ।

