अब किसानलाई गोठालो भत्ता !


मान्म (कालीकोट)- जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ ।

चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो ।

पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक हजार प्रदान गरिने जानकारी दिए ।

गोठालो भत्ता कार्यविधिअनुसार चारवटा भैंसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ ।

युवा तथा बेरोजगारलाई कृषिकर्ममा आकर्षित गर्न कार्यक्रम अघि सारिएको गाउँपालिका प्रवक्ता प्रदीप बोहराले बताए । ‘गाउँमा गोठालोलाई हेयका हेरिन्छ’, उनले भने, ‘यसले गोठालोको सम्मान गर्नेछ ।’

नरहरिनाथ गाउँपालिका पशुपालनको प्रचुर सम्भावना छ । पालिकामा भैँसी तथा भेडाबाख्रापालक किसान धेरै भएकोले उनीहरूलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया