‘रिह्याब सेन्टर’ भित्रै सुनिलको मृत्यु, हत्याको आशंका !


कैलाली- कैलालीकाे एक सुधार गृह(रिह्याब सेन्टर)मा राखिएका  युवककाे शंकास्पद मृत्यु भएकाे छ ।

जिल्लाकाे घाेडाघाेडी नगरपालिका-४ भालुफाटाकाे नयाँ बाटाे पुर्नस्थापना सुधार केन्द्रमा साेही ठाउँका २५ वर्षीय सुनिल शाहीकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

सुधार केन्द्रमा बस्दै आएका शाहीले एक तले भवनकाे छतबाट बुधबार राति हाम फालेकाे इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक दिप्रेन्द्रकुमार पालले  बताए ।

छतबाट हाम फालेर गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा घाेडाघाेडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे उनले बताए ।

शाहीकाे निधार, गर्धन, कम्मर र दुवै हातमा चाेट लागेकाे देखिएकाे छ। डीएसपी पालले शाहीले सुधार केन्द्रबाट भाग्ने उदेश्यले भवनकाे छतबाट हाम फालेकाे बुझिएकाे बताउँदै घटनाबारे अनुसन्धान जारी रहेकाे बताए ।

यता, मृतकका परिवारले भने घटनाकाे प्रकृति हेर्दा शाहीकाे हत्या गरिएको आराेप लगाएका छन् ।

मृतकका बुवा धनराज शाहीले छाेराकाे हत्या गरेकाे भन्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

उनले सुधार केन्द्रले विगत २५ दिनदेखि छाेरालाई भेटघाट गर्न नदिएकाे दाबी गर्दै कुटपिट गरेर छाेराकाे हत्या गरिएको बताए ।

लागुऔषध प्रयाेगकर्ता रहेका शाहीलाई परिवारले  गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।

प्रतिक्रिया