सर्वोच्चको फैसलाले ब्यूताईदिएको एमाले फूटको संघारमा: ओलीबाट पार्टी विघटन गर्ने दुष्प्रयास भएको निष्कर्ष


काठमाडौं – सर्वोच्च अदालतको फैसलाले ब्यूताईदिएको नेकपा एमाले फूटको संघारमा पूगेको संकेत देखिएको छ ।

एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीले पार्टी विघटनको दुष्प्रयास गरेको ठहर गरेको छ । ओलीले केन्द्रीय कमिटी एकलौटी विस्तार गर्दै पदाधिकारी खारेज र महाधिवेशनको मिति घोषणा गरेपछि नेपाल समूहले बृहत् छलफलका लागि ४ चैतमा राष्ट्रिय भेलासमेत बोलाएको छ ।

राजधानीमा शनिबार बसेको नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीले सर्वोच्च अदालतको फैसलाविपरीत एकलौटी बैठक राखेर एमालेलाई विघटन गर्ने दुष्प्रयास गरेको निष्कर्ष निकालेको नेता भीम रावलले बताए । त्यस्तै ओलीले पार्टी विभाजन गर्ने दुष्प्रयास गरे, त्यो कदापि मान्य नहुने पनि उनले बताए ।

स्थायी कमिटीका सदस्यको हस्ताक्षरसहित नेता तथा कार्यकर्तालाई पार्टी विघटनबाट जोगाउन संयुक्त वक्तव्य निकाल्ने पनि उनले बताए । अदालतको फैसलाअनुसार पूर्ववत् कमिटीलाई पुनर्गठनको प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको रावलले बताए । उनले भने, ‘राष्ट्रिय प्रतिनिधि परिषद्ले मात्र विधान संशोधन गर्ने हो, गुटको बैठकलाई विधान संशोधन गर्ने अधिकार छैन, उनले बताए ।

यसैगरी शनिबार बसेको यस बैठकले नेपाल समूहले सातवटै प्रदेशको इन्चार्जसमेत तोकेको छ ।

प्रतिक्रिया