घरमा आगलागी हुँदा श्रीमान्-श्रीमतीको मृत्यु


धादिङ – धादिङमा एक घरमा लागेको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको थाक्रे गाउँपालिका-५ गैरीखर्कस्थित एक घरमा आगलागी हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको हो ।

गएराति स्थानीय ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा एक्कासी आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

डिएसपी मिश्रका अनुसार आगलागी भएको सूचना प्रहरीले राति साढे ११ बजे पाएको थियो। सूचना प्राप्त भएपछि इन्स्पेक्टरको कमाण्डमा प्रहरी खटिएको थियो। ‘प्रहरी पुग्दा दुवै जनाको मृत्यु भइसकेको थियो,’ डिएसपी मिश्रले भने।

थाक्रे गाउँपालिका-५ का वडाध्यक्ष सन्त बहादुर तामाङका अनुसार दुवै जनाको शव आगलागी भएको घरमै छ।

आगलागीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

 

प्रतिक्रिया