गर्मी बढेसँगै तराईका विद्यालयहरूमा  पठनपाठन प्रभावित


राैतहट – चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ ।

अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश प्रदेशका केही पालिकाले विद्यालयको समय परिवर्तन गरेका छन् भने केहीले पठनपाठन नै बन्द गरेका छन् ।

सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्म पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि शनिवारसम्मको लागि पालिकाका सबै विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले जानकारी गराएका छन् । हरिवन नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिवारसम्म बन्द गर्ने नगर शिक्षा समितिको निर्णय भएको चौलागाईँले सार्वजनिक गरेका छन् ।

यसै गरी  पर्साको वीरगंज महानगरपालिकाले पनि विद्यालयको समय परिवर्तन गरी बिहानको समयमा कक्षा संचालन गर्न सूचना जारी गरेको छ । विद्यालयको पठनपाठनको कूल समयमा फरक नपर्ने गरी बिहानको सत्रमा कक्षा संचालन गर्न महानगरपालिकाले सूचना जारी गरेको हो । अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्ने नसक्ने अवस्था सिर्जना भएकोले बिहानको समयमा कक्षा संचालन गर्न धेरैतिरबाट सुझाव दिइएको छ ।

बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावा पस्न थाल्ने गरेको तथा सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरुलाई गर्मी चर्किनु अगावै घर पठाउन थालिएको हो । मधेशका अधिकांश विद्यालयमा बैसाखदेखि असारसम्म बिहानी सत्रमा कक्षा संचालन हुने गर्दछ ।

प्रतिक्रिया