जमानत नै जफत हुनेगरी चुनाव हारेपछि रास्वपाका मिलन लिम्बूले साग बेच्ने


काठमाडौं-  इलाम-२ को उपनिर्वाचनमा पराजित भएपछि पूर्वघोषणा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले साग पसल खोल्ने भएका छन् ।

लिम्बूले  चुनावी प्रचारको क्रममा चुनाव हारेमा साग पसल खोल्ने अभिव्यक्ति दिएका थिए । साेही अनुसार शनिबार सम्पन्न मतदानमा जमानतसमेत जफत हुनेगरी चौथो स्थानमा सीमित रहेका उनले  सामाजिक सञ्जालमा साग पसल खोल्न लागेको जानकारी गराएका हुन् ।

‘निर्वाचन अगाडि पत्रकार साथीहरूले प्रश्न गर्ने गर्नुहुन्थ्यो पत्रकारिता छोडेर राजनीतिमा आउनु भयो । निर्वाचनमा सहभागी हुनु भएको छ, जित्नु भयो भने त सांसद बन्नु हुन्छ, हार्नु भयो भने के गर्नु हुन्छ ? ’ उनले भनेका छन् ‘ मेरो जवाफ हुन्थ्यो- सांसद भए सदनमा जनताको आवाज उठाउने छु । नभए साग बेचेरै भए पनि जनताको सेवा गर्छु’ । अब आफू छिट्टै साग पसल खोल्ने तयारीमा लागेको उनको भनाइ छ।

प्रतिक्रिया