व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो : माधव नेपाल


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संस्था युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा उनले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

“देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्”, उनले भने ।

अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गरे । उनले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताए । “समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो”, अध्यक्ष नेपालले भने ।

प्रतिक्रिया