काभ्रेबाट बालबालिकाको कानको मुन्द्रा चोरी गर्ने २ पक्राउ
काभ्रे – बालबालिकाले लगाएको कानको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले काभ्रेबाट दुई जनालाई पक्राउ गरेको छ।
बनेपा नगरपालिका भित्रका बिभिन्न स्थानबाट बालबालिकालाई ललाई-फकाई एकान्त स्थानमा लगि उनीहरुले कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्दै आएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
पक्राउ पर्नेमा बनेपा- ७ का ५७ वर्षीय कुसुम शाक्य बुद्धाचार्य र काभ्रेकै बेथानचोक गाउँपालिका- ४ का २१ वर्षीय सुनिल नगरकोटी छन् । उनीहरुविरुद्ध हालसम्म पाँच जनाले प्रहरीमा उजुरी गरिसकेका छन्।
चोरी गरी लगेको सुन बनेपा नगरपालिका- ७ मा रहेको न्यु सुनचाँदी ज्वेलर्समा बेच्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका आरोपिहरुलाई चोरी मुद्दा कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।