शिवम् सिमेन्ट जलाउँदैछ प्लास्टिक, जनस्वास्थ्यमा असर


हेटौँडा- मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादनका लागि कोइलाको सट्टा प्लास्टिकजन्य वस्तु जलाइरहेको छ । चाउचाउ, चक्लेट आदिको खोल इन्धनको रुपमा प्रयोग गर्दा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर परेको छ ।

उद्योगले कोइलाको सट्टा प्लास्टिक मिसाएर क्लिङ्कर उत्पादन गरिरहेको स्थानीयले फेला पारेका छन् । त्यसबाट निस्केको धुवाँले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि असर परेको स्थानीयवासीले गुनासो गरेका छन् ।

बस्तीको बिचमा रहेको शिवम् सिमेन्ट उद्योगबाट निस्केको धुलो, धुवाँ तथा ध्वनि प्रदूषणले छेउमै रहेको विद्यालयका साना साना बालबालिका सिधैँ प्रभावित भएका छन् ।

क्लिङ्कर उत्पादनका लागि उद्योगले लामो समयदेखि प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको उद्योगका एकजना कर्मचारीले पनि बताएका छन् । प्लास्टिक जलाउँदा स्थानीय समस्यामा परेको भन्दै बिहीबार बिहान स्थानीयले उद्योग भित्र प्रवेश गरेर विरोध गरेका छन् । उनीहरूले तत्काल उद्योगको उत्पादन बन्द गर्नुपर्ने माग राखेका छन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र १७ का वडा अध्यक्ष उद्धव सत्यालले उद्योग प्रशासनले आफूहरुसँग कुरा गर्न नखोजेर पन्छिएको बताए ।

 

प्रतिक्रिया