


महाधिवेशनमा लाएको माया गोदावरी जाँदा भुलेछ, निष्ठुरी मायालु…

काठमाडाैं- २०६५ सालमा बुटवलमा भएको नेकपा एमालेको आठौं महाधिवेशनमा पूर्व झापाका केपी शर्मा ओली र सुदूरपश्चिमको अछामका भीव रावल एउटै प्यालनमा थिए ।
तर उनीहरु पहिलेदेखि उक्त प्यानलमा थिएनन् । रावल तत्कालीन अध्यक्ष झलनाथ खनालको पक्षमा थिए । उनले खनालसँग पदाधिकारी मागेका थिए । तर, खनालले सेती अञ्चलतर्फको केन्द्रीय सदस्य मात्र दिने भनेपछि रावलले निर्वाचनको मुखैमै प्यानल परिवर्तन गरेर ओलीलाई साथ दिएका थिए ।
तर, रावल हारे । ओलीले त्यति बेला अशोक राई, विद्या भण्डारी र भीम रावललाई उपाध्यक्ष राखेर प्यानल बनाएका थिए । महाधिवेशनमा राई र भण्डारीले जिते । तीन उपाध्यक्ष पदमध्ये एउटा पदमा तत्कालीन अध्यक्ष झलनाथ खनालको प्यानलबाट वामदेव गौतम विजयी भए ।
त्यहाँबाट नजिकिएका उनीहरुको दोस्ती लामै समयसम्म चल्यो । संविधानसभाबाट संविधान निर्माण क्रममा पनि ओली र रावलबीच निकै राम्रो साझेदारी बनेको थियो । संविधान निर्माणपछि २०७२ सालमा ओलीले सरकार नेतृत्व गर्दा रावललाई उपप्रधानसहित रक्षामन्त्रीको जिम्मेवारी दिएका थिए । अध्यक्षको उम्मेदवारी दिएपछि ओली र रावलबीच करिबकरिब बोलचाल बन्द थियो ।
त्यसैको ‘इगो’का कारण गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा रावललाई अध्यक्ष ओलीले चुनाव लड्न टिकट पनि दिएका थिएनन् । बैठकमा देशभरका नेकपा एमालेका महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायमा मनोनयन गरेका परिषद् सदस्य तथा केन्द्रीय पदाधिकारी गरी २ हजार ५४५ जना सहभागी छन् ।
त्यो ‘इगो’ हालसम्म पनि शान्त हुन सकेको छैन । गोदावरीको सनराईज हलमा नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहँदा रावललाई निम्तो दिइएको छैन । बैठकमा जाने इच्छा हुँदा हुँदै पनि पार्टी कमिटीले उनलाई कुनै औपचारिक जानकारी गराएको छैन ।
यतिसम्मकी नबोलाएपनि जाने योजना बनाएका रावलको बैठकका लागि परिचयपत्र नै बनाइएको छैन । बैठकमा प्रवेशका लागि परिचयपत्र नै नबनेको पाएपछि आफू नगएको रावलले बताएका छन् । परिचयपत्र नबनेपछि बैठकमा छिर्न खुसामत गर्नुपर्ने बाध्यता हुने भएकाले आफू नगएको उनले बताए ।

