


रुसी सेनाका परिवार अनशनमा

काठमाडौं- रुसी सेनामा कार्यरत नेपालीको उद्धारको माग गर्दै आफन्तहरूले काठमाडौंको माइतिघर मण्डलामा अनशन सुरू गरेका छन् । करिव ३ दर्जन आफन्तहरूले शुक्रबारबाट अनशन थालेका हुन् ।
उनीहरूले रुसी सेनामा भएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरूको खोजी, मृत्यु भएकाहरूको शव फिर्ता, भर्ती भएका र युक्रेनको कब्जामा रहेकाहरूको सकुशल उद्धारको माग राखेका छन् । लामो समयसम्म सरकारले रुसी सेनामा पीडित परिवारको गुनासो सम्बोधन नगरेपछि अनशन बस्न बाध्य भएको अभियान्ता कृतु भण्डारीले बताए ।
युद्धमा परी घाइते भएका नेपालीहरूको उपचार, मृतक परिवारलाई क्षतिपूर्ति र शव नेपाल ल्याउने व्यवस्था मिलाउनुपर्ने अनशनमा बसेकाहरूको माग छ । त्यस्तै, रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरण गरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।

