


नयाँ गठबन्धनपछि राजनीति अनुकूल बनेको छ : ओली

काठमाडौँ – सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन बनेपछि राजनीति अनुकूल बनेको विश्लेषण गरेका छन् ।
आज (शनिबार) सुरु भएको प्रतिनिधि परिषद् भेलामा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो विश्लेषण गरेका हुन् । उनले नयाँ गठबन्धन बनेसँगै एमाले राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकामा फेरि स्थापित भएको दावी गरेका छन् ।
उनले अहिले सहकार्य हुँदा विश्वासको वातावरण निर्माण हुने अपेक्षा गरेको पनि बताए ।
उनले सहकार्यबाट विश्वासको वातावरण बनी भोलि विचार मिल्नेहरू क्रमशः एक ठाउँमा हुनसक्ने उनको विश्लेषण छ । तर, अहिले भने सबै सकारात्मक शक्तिलाई एक साथ लिएर हिँड्नुपर्ने उनको भनाइ छ ।
अध्यक्ष ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग अरु राजनीतिक दलमाथि प्रश्न उठाउने नैतिक आधार नभएको जिकिर गरेका छन् । काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमाथि छानबिनको माग गर्दै संसद बैठक अवरुद्ध गरिरहेको बेला ओलीले त्यसो गर्ने नैतिक आधार काँग्रेससँग नभएको बताएका हुन् ।
उनले हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेतालाई राजीनामा गराउने तयार नहुने काँग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधार नराख्ने बताए ।

